राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान

बिहीबार कार्तिक ६, २०८३/ Thursday 10-22-26
Paschim Today

काठमाडौं । नेपाली क्रिकेटको मुटु मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको रोमाञ्चक शृङ्खलासँगै निक्कै व्यस्त रहने भएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि नेपालले आयोजना गर्न लागेको इतिहासकै सबैभन्दा ठूलो क्रिकेट महोत्सव ‘आईसीसी यू–१९ महिला टी–२० विश्वकप’ सम्मका प्रतियोगिताहरूले कीर्तिपुर मैदानलाई निरन्तर गुन्जायमान बनाउनेछन्।

आगामी ६ महिनाको अवधिमा नेपाली क्रिकेटले घरेलु फ्रेन्चाइज लिग, विश्वकप छनोट प्लेअफ, द्विपक्षीय शृङ्खला र विश्वकप आयोजनाजस्ता ऐतिहासिक सफलताका क्षणहरू यही मैदानबाट पार गर्नेछ।

नेपालले आयोजना गर्न लागेको यू–१९ महिला टी–२० विश्वकप हालसम्मकै ठूलो क्रिकेट प्रतियोगिता हो। सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने यो प्रतियोगितासहित अबको करिब ६ महिना कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताले व्यस्त रहनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि विश्वकप छनोट प्लेअफ, यू–१९ महिला विश्वकप र बंगलादेशसँगको टी–२० शृङ्खलासम्मका प्रतियोगिता यही मैदानमा आयोजना हुने तालिका छ। यस अवधिमा नेपाली क्रिकेटले घरेलु लिगदेखि विश्वकप छनोट र अन्तर्राष्ट्रिय शृङ्खलासम्मका गतिविधि अघि बढाउनेछ।

एनपीएलबाट सुरु हुनेछ व्यस्त तालिका

त्रिवि मैदानमा क्रिकेट प्रतियोगिताको व्यस्त अवधि कात्तिक ९ गतेदेखि सुरु हुनेछ। मंसिर ५ सम्म नेपाल प्रिमियर लिगको तेस्रो संस्करण यही मैदानमा सञ्चालन हुनेछ। नेपाल क्रिकेट संघको आयोजनामा हुने फ्रेन्चाइज प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

तेस्रो संस्करणमा आइपुग्दा एनपीएलको स्तर पनि निकै बढेको छ । यसपटक विदेशी स्टार खेलाडीहरूको संख्या बढ्दा प्रतियोगिताले प्राविधिक पक्षहरूमा पनि ठूलो फड्को मारेको छ ।

एनपीएलको यस संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पनि पाइसकेको छ । प्रतियोगिताका खेलहरूले आधिकारिक लिस्ट ए टी-२० मान्यता पाउनेछन् ।

त्यस्तै यसैपटकदेखि एनपीएलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधिको पनि प्रयोग हुनेछ । क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ ।

यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।

एनपीएलले घरेलु खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै विदेशी खेलाडीसँग खेल्ने मौका पनि दिनेछ। यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विश्वकप छनोट प्लेअफ डिसेम्बरमा

एनपीएल सकिएको केही दिनपछि त्रिवि मैदानमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आयोजना हुनेछ। डिसेम्बर ४ देखि २१ अर्थात् मंसिर १८ देखि पुस ६ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्।

विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोलीले प्लेअफ खेल्नेछन्। प्रतियोगिताको शीर्ष चारमा पर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्।

यस प्रतियोगितामा नेपालसहित क्यानडा, यूएई, जर्सी, इटाली, युगान्डा, कुवेत (सम्भावित) र नामिबिया (सम्भावित) प्रतिस्पर्धा गर्नेछन् र सबैको मुख्य लक्ष्य विश्वकप छनोटमा पुग्नु हुनेछ ।

नेपालले घरेलु मैदानमा आयोजना गर्ने यो प्रतियोगिता विश्वकप छनोटको यात्राका हिसाबले महत्त्वपूर्ण हुनेछ भने घरेलु मैदानको फाइदा उठाउँदै विश्वकपको यात्रामा एक महत्त्वपूर्ण खुड्किलो पार गर्न सक्नेछ ।

यू–१९ महिला विश्वकप मुख्य आकर्षण

सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ अर्थात् माघ ७ देखि २३ सम्म हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपका १५ खेलहरू नेपालमा आयोजना हुनेछन् । यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो क्रिकेट प्रतियोगिता हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् ।जसमध्ये त्रिवि क्रिकेट मैदानमा ७ खेलहरू हुनेछन् ।

माघ ८, माघ १०, माघ १२ र १३ गते त्रिवि क्रिकेट मैदानमा विश्वकपका खेलहरू हुनेछन् ।

विश्वकप आयोजनाका लागि त्रिवि क्रिकेट मैदानमा महिनौंदेखि तयारी चलिरहेको थियो । यसबीचमा आईसीसीका प्रतिनिधिहरू समेत आएर मैदानको निरिक्षण गरेका थिए ।

प्रतियोगितामा विभिन्न देशका युवा महिला टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसले नेपालमा महिला क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बंगलादेशसँग टी–२० शृङ्खला

सन् २०२७ मार्च २६ देखि ३० अर्थात् चैत १२ देखि १६ सम्म नेपाल र बंगलादेशबीच टी–२० शृङ्खला आयोजना गर्ने तालिका छ।

यस शृङ्खलाले नेपाली टोलीलाई अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर दिनेछ।

यस्तै मंसिरका लागि तय भएको नेपाल र भारत ए बीचको टी-२० शृङ्खला भने प्लेअफका कारण स्थगित भएको छ । छिट्टै नयाँ मिति घोषणा गर्ने बताइएको छ ।

पुस ६ गतेपछि माघ ७ गतेसम्म कुनै प्रतियोगिता छैन । फागुनको ग्यापमा भने एकदिवसीय विश्वकप छनोट हुँदैछ जसका कारण नेपाली टोली पनि व्यस्त हुन सक्ने सम्भावना रहन्छ ।

त्यसकारण पुस र माघको बीचको समयमा उक्त भारत ए सँगको शृङ्खला आयोजनाका लागि क्यानले पहल गर्ने सम्भावना छ ।

यसरी एनपीएलदेखि यू-१९ महिला टी-२० विश्वकप अनि विश्वकप छनोट प्लेअफदेखि बंगलादेशसँगको टी-२०आई शृङ्खलाका लागि त्रिवि क्रिकेट मैदान अबको केही महिना व्यस्त रहनेछ ।

यहाँ उल्लेख गरिएका बाहेक पनि प्रतियोगिताहरू त्रिवि क्रिकेट मैदानमा हुने सम्भावना त छँदै नै छ । हालका लागि भने यी महत्त्वपूर्ण प्रतियोगिताले त्रिवि क्रिकेट मैदानमा उत्साह ल्याउने पक्का छ ।